साताको अन्तिम कारोबारको दिन ३४ अंकले घट्यो सेयरबजार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन पनि सेयरबजारको गिरावट निरन्तरता कायम रहेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२.६१ अंकमा झरेको छ यता सेन्सेटिभ परिसूचक पनि ५.६१ अंकले घटेर ३७९.८८ अंकमा झरेको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह घटेको छ ।
त्यसैगरी, शुक्रबार कारोबार रकममा शिवम् सिमेन्टले अग्रता कायम गरेको छ । कम्पनीको ५ करोड ५९ लाख ८३ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज नेप्सेमा ग्लोबल आईएमई सम्मुनत योजना १ को लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । उक्त फण्डको मूल्य २.८२ प्रतिशतले बढेर ९ रूपैयाँ ८५ पैसा पुगेको छ ।
त्यस्तै हिमालयन उर्जा कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.४४ प्रतिशतले घटेर २ सय २६ रूपैयाँमा झरेको छ ।
कूल २१७ वटा कम्पनीको ३० लाख ६३ हजार ४ सय ५३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १६ करोड ८४ लाख ४२ हजार ४ सय ४४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।