राष्ट्रपति भागेपछि श्रीलङ्कामा देशव्यापी निषेधाज्ञा
प्रकाशित मिति : 14 July, 2022 11:54 am
कोलम्बो । श्रीलङ्काका नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशव्यापी निषेधाज्ञा (कफ्र्यू) घोषणा गरेका छन् ।
बुधबार कार्यवाहक राष्ट्रपति नियुक्त भएका उनले पद सम्हाल्नेवित्तिकै देशव्यापी निषेधाज्ञा घोषणा गरेका हुन । निषेधाज्ञा लागू भएसँगै श्रीलङ्कालीहरू रेलमार्ग, सडक, मनोरञ्जनस्थल, उद्यानलगायत सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउने छैनन् ।
बुधबार पनि यहाँका नागरिकहरुले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालयमा घेराउ गरी उनको राजीनाको माग गरेका थिए । बुधबार नै सभामुखले प्रधानमन्त्री विक्रमासिङ्घेलाई कार्यबाहक राष्ट्रपतिमा नियुक्त गरिएको जानकारी दिएका थिए ।
गत शनिबार राष्ट्रपतिको कार्यालय प्रदर्शनकारीले कब्जा गरेपछि सरकारी निर्णय तथा घोषणाहरू सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएका छन् । रासस