पावर हाउस भासिँदा तीन जनाको ज्यान गयो
जुम्ला । जुम्लाको हिमा गाउँपालिका -१ आचार्यलिहीमा अवस्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका तीन जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन् । पावर हाउसका चौकीदार गोरक बहादुर रावतका श्रीमती र दुईवटा छोराको पावरहाउस भित्र सुतिरहेका अवस्थामा पावर हाउस भासिँदा घटनास्थलमै मृत्यु भएको हो ।
राती साढे २ बजेको घटना भए पनि स्थानीय गाउलेले ४ बजे मात्र थाहा पाएका थिए। जानकारी पाउनासाथ प्रहरी घटनास्थल पुगेको थियो। प्रहरी चौकी बड्किका अनुसार राति बत्ती किन गयो भनेर हेर्न जाँदा एकासी घर भासिएको थियो ।
प्रहरी चौकी बड्किका रामप्रसाद चौलागाईंको कमान्डमा प्रहरी राती नै घटनास्थलमा पुगेको थियो । शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ ।