सैनामैनामा सुकुम्बासी जग्गा नापजाँच: १५ हजार परिवारलाई लालपूर्जा वितरण गर्ने लक्ष्य
काठमाडौं । रुपेन्देहीको सैनामैना नगरपालिकाले भूमिहिन नागरिकलाई लालपुर्जा वितरण गर्नको लागि जग्गा नाप्ने कार्य शुरु गरेको छ । नगरपालिकाले वडा न. १ बाट जग्गा नापजाँचको कार्य सुरुवात गरेको हो ।
नगरपालिकाले करिब १५ हजार भूमिहिन, दलित र सकुम्बासीलाई लालपूर्जा वितरण गर्ने लक्ष्यका साथ जग्गा नाप्ने कार्य सुरु भएको सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र शर्माले बताए ।
शर्माले भने, “यसमा लाग्ने खर्च राष्ट्रिय भूमि आयोगले हेर्ने छ । कर्मचारी पालिकाले खटाउने छ । भूमिहिन नगरिकहरुलाई लालपूर्जा वितरणको कार्य दुई वर्ष भित्र सकिने छ। ’’
निर्वतमान प्रमुख चित्र बहादुर कार्की अनुसार आफ्नो कार्यकालमा दुई चरणमा गरेर ५०० लालपुर्जा तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालको मातहतमा ५०० सय लालपूर्जा र बाकीँ २०० सय लालपूर्जा आफूले वितरण गरेको बताए । कार्कीले भने, “साविकका पर्रोहा र सालझण्डी गाविस अन्तर्गत रहेका विभिन्न १७ वटा ब्लक समस्यामा रहेका समुदायलाई त्योबेला एकैसाथ लालपुर्जा वितरण गरेको हो । २०२३ सालमा तत्कालीन सरकारले एकसरो नापी गर्ने क्रममा छुटेका यहाँका गाउँब्लकका सयौं कित्ताहरुको लालपुर्जा छैन । सोही ब्लकका लागि सैनामैनाले लालपूर्जा वितरण गरेको हो । ’’
२०७६ साल जेठ १२ गते देखि तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्याल, नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले भूमिहिन नागरिकलाई लालपूर्जा वितरण कार्य शुरु गरेका थिए ।
कार्कीले आफू निर्वतमान नगरप्रमुख भएपनि नवनिर्वाचित नगरप्रमुखले गर्न लागेको लालपूर्जा वितरण कार्यलाई सहयोग गर्ने बताएका छन् । नेकपा एमाले नेतृत्वको सरकार हुदाँ भूमिहिन नगरिकलाई केन्द्रित गरेर गरेका निर्णयहरु गठबन्धन सरकार आएर सबै निर्णय खरोज गरेको कार्कीको गुनासो छ ।