डेङ्गुका बिरामी बढे
प्रकाशित मिति : 17 July, 2022 1:38 pm
काठमाडौं ।धादिङ जिल्लामा डेङ्गुका बिरामी बढ्न थालेका छन् । पछिल्लो एक महिनाको अवधिमा जिल्ला ४९ डेङ्गुका बिरामी पहिचान भएका हुन् । बिरामी जाँच गराउन आएकामध्ये धादिङ अस्पतालमा ४६, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा एक गरी ४९ जनालाई डेङ्गुको सङ्क्रमण पुष्टि भएकोे हो ।
पोथी लामखुट्टेले टोकेर सङ्क्रमण हुने डेङ्गुको बिरामी थपिन थालेपछि पानी जम्न सक्ने भाँडाजस्तै गमला, फूलदानी, खाली बट्टा, खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिन आग्रह गरिएको छ ।
धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मधुकर दहालले लामखुट्टेबाट बच्न ज्वरो आएमा, बान्ता भएमा वा डेङ्गुका लक्षण देखिएमा स्वास्थ्य संस्थामा आउन आग्रह गरेका छन् ।
यसअघि बागलुङमा पनि दर्जनौ डेङ्गुका बिरामी भेटिएका थिए ।