४ आश्विन २०८१, शुक्रबार

नेपाली किसान कृषि सिक्न कोरिया जान पाउने

प्रकाशित मिति :  18 July, 2022 7:41 pm


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र (एईसी) र कोरियाली ग्लोबल मल्टी कल्चरल सेन्टर (जीएमसी) बीच सम्झौता भएको छ । उद्यम केन्द्र र कल्चरल सेन्टर बीच नेपाली किसानलाई कोरियामा कृषि सीप, प्रविधि आदानप्रदान गर्ने उद्देश्यले सम्झौता भएको हो । सम्झौता अनुसार नेपाली किसानले कोरियामा कृषि कर्म सिक्ने अवसर पाउनेछन् । सम्झौतामा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र जीएमसीको तर्फबाट महासचिव योङ्सु (इरिक) मुनले हस्ताक्षर गरेका छन् ।

जीएमसीले नेपाली कृषकलाई ५–५ महिना गरी दुईपटक कोरियाको सीप र प्रविधिको प्रयोगबारे तालिम दिने उल्लेख गरेको छ । कोरियाको विभिन्न नगरपालिका र कृषि उद्यम केन्द्रले नेपालको पालिकासँग समन्वय गरि वास्तविक किसान छनोट गरि सहजीकरण गर्ने जनाएको छ । सम्झौता अनुसार कोरियाको विभिन्न नगरपालिकाले सो कार्यक्रममा सहभागी हुन चाहने कृषकसँग कृषि उद्यम केन्द्रमार्फत सहजीकरण गर्नेछ ।

सो कार्यक्रमको लागि कोरिया जाने किसानले मापदण्ड अनुसारको सेवासुविधा पाउनेछन् भने न्यूनतम ८ घण्टा खेतीमा बिताउनु पर्नेछ । उक्त कार्यक्रममा नेपाली कृषकहरूलाई सहभागी गराउन पाउनु नेपाली कृषकका लागि महत्वपूर्ण खुट्किलो साबित हुने सभापति सुमार्गीले बताए । यो कार्यक्रमले कोरियन कृषि प्रविधि नेपालमा भित्राउन सहज हुने उनको भनाइ थियो ।

जीएमसीका मुनले ईपीएसबाट गएका नेपाली कामदारले गरेको कामबाट प्रभावित भएर नेपालमा कोरियन सीप तथा प्रविधि भित्राउन नेपाली कृषक लैजान आफूहरु तयार भएको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !