भीरकोटका बाख्रापालन किसानलाई औषधी र नगद सहयोग
स्याङ्जा । भीरकोट नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्गजाको सहयोगमा औषधि तथा चेक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
भीरकोट नगरपालिकाका ९ वडाका ६५ वटा व्यवसायिक बाख्रा पालक किसानलाई बाख्रा ब्लक कार्यक्रम अन्तर्गत वडा नं २ मा रहेको शान्तिथुम कृषि तथा पशुपलान समुहको नेतृत्वमा औषधी तथा प्रतिकिसान २९ हजारकाे चेक हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा नगरउपप्रमुख भगवती रेग्मीका अनुसार विगतका वर्षहरुमा पालिकामा लाखौँ रुपियाँको मासु आयात हुदैँ आएको र उक्त कार्यक्रमले गर्दा मासु आयात गर्ने समस्या नहुने बताएकी छन् ।
उनले भनिन्, “विगतका वर्षहरुमा नक्कली किसान बनेर विभिन्र अनुदान खादैँ आएका छन् । विस्तारै यो कार्यलाई हटाउदैँ जाने छौँ । उक्त कार्यक्रमले गर्दा पालिका अधिकांश व्यवसायिक बाख्रा पालक किसानलाई थप प्रेरणा मिल्नेछ ।’’
त्यसैगरि नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत प्रदेश सरकारबाट ३५ लाख रुपियाँ बजेट विनियोजन भएको छ ।