३ माघ २०८१, बिहिबार

सभामुख सापकोटालाई संसदमा अड्किएका आर्थिक विधेयक अगाडी बढाउन चेम्बरको आग्रह

प्रकाशित मिति :  19 July, 2022 3:28 pm


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधि सभामा विचाराधीन रहेका अर्थतन्त्रसँग सम्बन्धित विधेयकहरुलाई अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको छ । सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भएको भेटवार्तामा चेम्बरले अर्थतन्त्रसँग सम्बन्धित विभिन्न ११ वटा विधेयकहरु अघि बढाउन सभामुख सापकोटाको ध्यानाकर्षण गराएको जनाएको छ ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीले सभामुख सापकोटासँग विचाराधीन अवस्थामा रहेका विधेयकहरु रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित समस्याहरु सम्बोधन हुन नसकेको बताएका थिए ।

बीमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहेकाले संघीय निर्वाचनअघि अर्थसँग सम्वन्धित सबै विधेयक पारित गर्नका लागि पहल गरिदिन अध्यक्ष मल्लले आग्रह गरे । उनले भने, “मुलुकको अर्थतन्त्रलाई चलायन बनाउन एवं प्रतिनिधि सभा र संसदीय विभिन्न समितिमा रोकिएका अर्थतन्त्र सम्बन्धित सवै विधेयकहरुलाई संघीय निर्वाचन अघि पारित गराउन म सभामुखज्यूलाई आग्रह गर्दछु ।”

सभामुखसँगको भेटका क्रममा अध्यक्ष मल्लले मुुलुकका व्यवस्थित ढंगले गाँजाको खेती गर्ने वातावरण बनाउन समेत सभामुख लाई आग्रह गरे । गाँजाको व्यवस्थित उत्पादन र निर्यात प्रर्वद्धन गर्न सकिए वर्तमान व्यापारघाटा कम गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ ।

संघीय निर्वाचन अघि अर्थतन्त्रसंग जोडिएका सवै विधेयकहरु पारित भए मुलुकको आर्थिक क्षेत्रले निकास पाउने अध्यक्ष मल्लले बताए ।

चेम्बर पदाधिकारीसंगको भेटका क्रममा सभामुख सापकोटाले रोकिएका विधेयकहरुलाई अघि बढाउन आफुले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । सभामुख सापकोटाले भने, “केही विधेयकलाई अघि बढाउन सम्वन्धित निकायमा भनिसकेको छु । बजेटसँग सम्बन्धित विधेयकहरु करिब करिब सकिएको छ । अरु विधेयकलाई पनि अड्काउन हुँदैन भन्नेमा सचेत छु ।”

सभामुखसँगको भेटका क्रममा चेम्बरका पदाधिकारीले केही विधेयकहरु संसदीय समितिमा झण्डै चार वर्षदेखि रोकिएको र यसले आर्थिक क्षेत्रमा नकारात्मक असर गरेको भन्दै सभामुख सापकोटाको ध्यानाकर्षण गराएका थिए ।



प्रतिक्रिया दिनुहोस !