वालिङ नगरपालिकाद्धारा कृषक तथा उद्यमीहरुलाई कृषि सामाग्री तथा बिउबिजन बितरण
स्याङ्जा । वालिङ नगरपालिकाले कृषक तथा उद्यमीहरुलाई कृषि सामाग्री तथा बिउबिजन बितरण गरेको छ ।
वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘हरित पुनःउत्थान तथा कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत कृषि औजार र बिउजन बितरण गरिएको हो ।
कृषकहरुका माग र आवश्यक्ताका आधारमा कृषि औजारहरु र अन्य सामाग्री बितरण गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा बिभिन्न १० वटा सहकारी तथा समूहलाई बिउबिजन, ४० जना कृषकलाई टनेल,एक समूहलाई कम्वाईन मिल, चापकटर, ठेला लगायतका सामाग्री बितरण गरिएको छ ।
कृषि सामाग्री हस्तान्तरण गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले बास्तविक कृषकहरुलाई सहयोग गरि उत्पादन बढाउने नगरपालिकाको नीति रहेको बताइन् । उनले भनिन्, “कृषक र उद्यमीलाई प्रोत्साहन गर्दै आवश्यक सहयोग गर्दै जानेछौं ।’’