नेप्सेमा हरियाली कायमै, शिवम् सिमेन्टको सर्वाधिक कारोबार
काठमाडौं । केही दिनदेखि हरियाली छाएको सेयरबजारमा आज पनि कायमै रहेको छ । कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५०.५९ अंकमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक पनि ०.९७ अंकले बढेर ३९२.५० अंकमा पुगेको छ ।
नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये ८ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ५ वटा उपसमूहको सेयर घटेको छ ।
बुधबार कारोबार रकमको आधारमा शिवम् सिमेन्टको नै सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड ४२ लाख ५९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आजको दिन मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ५.६९ प्रतिशतले बढेको छ ।
त्यस्तै आजको दिन लक्ष्मी इक्विटी फण्डको मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य ६.३३ प्रतिशतले घटेर ९ रूपैयाँ ६२ पैसामा झरेको छ ।
कूल २१५ वटा कम्पनीको ४१ लाख ३३ हजार ७ सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ७३ करोड १८ लाख ३२ हजार २ सय ७० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।