१० मंसिर २०८१, सोमबार

विराटनगर–वथनाह मालवाहक रेल अविलम्व संचालनमा ल्याउने सहमति

प्रकाशित मिति :  24 July, 2022 5:25 pm


काठमाडौं । भारतको वथनाहबाट मोरङको विराटनगरसम्म निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे संचालन पूर्व तयारीका सम्वन्धमा उद्योग संगठन मोरङमा भएको वैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एस।के। चौधरीले विराटनगर देखि कार्गो रेल्वे अविलम्व संचालनमा ल्याउने बताए ।

छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगंज पुलमा आएको अवरोधले गर्दा मालवाहक सवारीका साधन रिरुट गरी ल्याउँदा उद्योगीलाई थप आर्थिक व्ययभार परिरहेको अवस्थामा मालवाहक रेल्वे संचालनले राहत दिने बताए ।

यस क्षेत्रबाट भईरहेको नेपाल भारत बीचको व्यापार अभिवृद्धिमा यो परियोजना कोशेढुंगा सावित हुने बताउदैँ उनले स–साना वाधा व्यवधानलाई अविलम्व समाधान गरी मालवाहक रेल्वे संचालनमा ल्याउन भारत र नेपाल पक्षका अधिकारीलाई आग्रह गर्दै नीजि क्षेत्रका तर्फबाट उद्योग संगठन मोरङ सहजीकरण गर्न तयार रहेको बताए ।

भारतीय रेल्वे, डिभिजनल रेल्वे मेनेजर एस।के।चौधरीले १८ दशमलव ६ किलोमिटर लम्वाई भएको वथनाह विराटनगर रेल्वेको काम अन्तिम चरणमा पुगेको वताउदै नेपाल र भारत सरकार वीच प्राविधिक र प्रशासनिक प्रकृया पुरा भएको १० देखि १५ दिनमा कार्गो रेल संचालनमा ल्याउन सकिने बताए ।

चौधरीले जोगवनीमा रेल्वे रिपेयरिङ सेन्टरको निर्माणका लागि भारतीय रेल्वे मन्त्रालय समक्ष आवश्यक बजेटका लागि अनुरोध गरेको जानकारी दिदैँ उक्त सेन्टरको निर्माण पश्चात अन्य स्थानका लागि नयाँ प्यासेन्जर रेल थपिने जानकारी दिए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले दुई देशबीचको व्यापार विस्तारका लागि महत्वपूर्ण कार्गो रेल संचालनमा ल्याउन महानगरपालिकाका तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै नेपाल सरकारका तर्फबाट गर्नुपर्ने प्राविधिक र प्रशासनिक प्रकृयाका पुरा गर्न प्रधानमन्त्री समक्ष पहल गर्ने बताए ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले निर्माणको क्रममा देखिएका वाधाहरु समाधानमा मोरङ प्रशासनको तर्फबाट पूर्ण सहयोग रहने वताए । छलफलमा विराटनगर भन्सारका प्रमुख अधिकृत ताराप्रसाद सापकोटाले मिरगंज पुलका कारण आयात निर्यातमा समस्या आउदा राजश्व संकलन समेत प्रभावित भएको जनाउदै कार्गो रेल संचालनमा ल्याउन भन्सारको सहयोग रहने बताए ।

संगठनका पूर्व उपाध्यक्ष एंव उद्योगी राकेश सुरानाले नेपालबाट भारतको विभिन्न स्थानमा उपचार गराउन, अध्ययन गर्न र धार्मिक प्रयोजनका लागि यस क्षेत्रबाट जाने यात्रुहरुको संख्या अत्यधिक रहेकाले थप गन्तव्य पहिचान गरी नया रेल थप्नु पर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !