डुम्रे–आँबुखैरेनी सडकखण्ड पाँच घण्टापछि खुल्यो
प्रकाशित मिति : 26 July, 2022 10:38 am
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको पाँच घण्टापछि सञ्चालनमा आएको छ । बिहान करिब ३ बजेदेखि अवरुद्ध भएको थियो ।
बन्दीपुर गाउँपालिका–५ याम्पा नजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा
उक्त सडकखण्ड अवरुद्ध भएको हो । लामो समयसम्म सवारीसाधन रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको थियो ।
डोजरको सहायताले पहिरो पन्छाएपछि अहिले दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएका छन्। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको अन्य सडक खण्डमा भने कुनै अवरोध नभएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । ।