नागार्जुन नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले घुमफिरमै एक वर्षमा सके रु.३१ लाख
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले घुमफिरमै एक आर्थिक वर्षमा ३१ लाख रुपैयाँभन्दा बढी सिध्याएका छन् ।
महालेखा परीक्षकको प्रतिवेदन –२०७९ अनुसार सबै वडाका जनप्रतिनिधिले पालैपालो घुमफिर गर्दा ३१ लाख ७१ हजार १ सय ४९ रुपैयाँ नगरपालिकाको ढुकुटी सकेका छन् । घुमफिरमध्ये सुदूरपश्चिम भ्रमणमा जेष्ठ नागरिक भ्रमण भनेर ४ लाख ८४ हजार ३० रुपैयाँ सकिएको छ भने बाँकी सबै जनप्रतिनिधि र कर्मचारीले सकेका छन् ।
प्रतिवेदन अनुसार वडा नं. १ का जनप्रतिनिधि र कर्मचारीले जनकपुर इलाम घुम्दा ४ लाख ५० हजार रुपैयाँ सकेका छन् भने मुक्तिनाथ भ्रमणमा जाँदा वडा नं. २ का जनप्रतिनिधि तथा कर्मचारीले ५ लाख रुपैयाँ सकेका छन् । वडा नं. ४ का जनप्रतिनिधि तथा कर्मचारी चितवन,प्यूठान र सुपादेउराली घुम्दा ४ लाख ३६ हजार ५ सय रुपैयाँ खर्च गरेका छन् ।
इलाम भ्रमणमा गएका वडा नं. ६ का जनप्रतिनिधि र कर्मचारीहरुले ३ लाख ५१ हजार रुपैयाँ, पाथिभरा भ्रमणमा गएका वडा नं. ८ का जनप्रतिनिधि र कर्मचारीले ३ लाख खर्च गरेका छन् ।
त्यस्तै वडा नं. ९ का जनप्रतिनिधि तथा कर्मचारीले सुदूरपश्चिम महेन्द्रनगर घुम्दा ३ लाख ५० हजार र पोखरा,मनाङ्ग,मुस्ताङ्ग गएका वडा नं. १० का जनप्रतिनिधि र कर्मचारीले २ लाख ९९ हजार ७ सय १९ रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
महालेखाले आव २०७७/०७८ मा गरिएको भ्रमणको औचित्यमा समेत प्रश्न उठाएको छ । महालेखाले भनेको छ,“ संघ तथा प्रदेशबाट प्राप्त बजेटको सही प्रायोजनमा प्रयोगमा ल्याउनुपर्नेमा आवश्यकता तथा औचित्यता सिद्द नहुने अनुत्पादक किसिमका कार्यमा खर्च गर्नु उचित देखिएन ।”