भदौ १ गतेदेखि बन्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा
प्रकाशित मिति : 28 July, 2022 2:57 pm
काठमाडौं । बन्चरेडाँडामा स्थानीयबासीले फोहोर फाल्न नदिने घोषणा गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यकाको फोहोर डम्पिङ गर्ने सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा भदौ १ गतेदेखि सधैंका लागि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका हुन् ।
महानगरले सम्झौताअनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै समितिले फोहोर फाल्न नदिने घोषणा गरेको सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए ।
उनले ३१ साउनसम्म आफूहरूको माग पूरा नभएको खण्डमा १ भदौदेखि सिसडोल र बञ्चरेडाँडामा सधैँका लागि फोहोर लैजान बन्द गरिने चेतावनी दिँदै सरकार र महानगरपालिकाले पटकपटक आफूहरूसँग सहमति गरेर धोका दिएको बताए ।