१० मंसिर २०८१, सोमबार

प्राविधिक समस्याले यात्रु भालेश्वर मन्दिरमै अड्किए रिर्साेटमा नि:शुल्क राख्छौँ: अध्यक्ष ढकाल

प्रकाशित मिति :  30 July, 2022 12:28 am


काठमाडौं । केबलकारमार्फत चन्द्रागिरी जाने यात्रु प्राविधिक समस्याका कारण भालेश्वर मन्दिरमै अड्किए चन्द्रागिरी हिल्स रिर्साेटमा निशुल्क रुपमा बस्ने सुविधा मिलाइने चन्द्रागिरी हिल्स प्रालिका अध्यक्ष चन्द्र ढकालले बताएका छन् ।

शुक्रबार चन्द्रागिरीमा एक पत्रकार सम्मेलन गर्दै केबलकार सञ्चालनका लागि तीन वटा विधी रहेकाले डराउनु नपर्ने उनको भनाइ छ । विद्युत्, जेनेरेटर र तेस्रो विकल्पका रुपमा ‘इमर्जेन्सी ड्राइभ’ समेत रहेकाले केबलकार सेवा सुरक्षित रहेको ढकालले बताएका छन्। पहिलो विद्युतबाट सञ्चालन हुन्छ, विद्युत गएको खण्डमा एक मेगावाट बराबरको जेनेरेटरबाट सञ्चालन गरिन्छ, यदि त्यसले पनि काम गरेन भने, ‘इमर्जेन्सी ड्राइभ’ भन्ने छ, त्यो सय प्रतिशत चल्छ, त्यसमार्फत् जति पनि यात्रु डिब्बाामा हुनुहुन्छ, उहाँहरूलाई सकुशल अवतरण गराउने समयसम्ममा नै काम गर्छ,’ उनले भने।

उनले यदि कोही यात्रु रोकिएर माथि रहेमा उनीहरूलाई निःशुल्क रूपमा रिसोर्टमा बस्ने, खाने व्यवस्था गरिने र आकस्मिक रूपमा तल झर्नुपर्ने यात्रुलाई सवारी साधनको समेत व्यवस्था रहेको जानकारी दिए।

“यो केबलकार विश्वकै सबभन्दा सुरक्षित कम्पनी अष्ट्रियन ‘डोब्बलमेयर’ कम्पनीले उत्पादन गरेको हो। हाम्रोजस्ता विश्वका २० हजार केबलकारमा यही कम्पनीको प्रविधि सञ्चालनमा छ,” ढकालले भने, “यो प्राविधिक विषय हो र पूरै रूपमा बिजुलीमा निर्भर हुने भएकाले बिजुली गएपछि केही समय रोकिन्छ त्यसलगत्तै जेनेरेटर चल्छ। जेनेरेटरले पनि समय लाग्ने अवस्था भएमा हामीसँग ‘इमर्जेन्सी ड्राइभ’ का कैयौं विकल्प छन्। त्यस्तै, संकट नै पर्ने या उद्धार नै गर्नुपर्ने भन्ने केही हुँदैन।”

“हरेक दिन केबलकार सञ्चालनमा ल्याउनुअघि प्राविधिक परीक्षण हुन्छ, त्यसपछि पनि समस्या आइहालेमा तत्काल विज्ञबाट अध्ययन हुन्छ र ५, १० मिनेटमा निराकरण गरेर सेवा सञ्चालन हुन्छ। यदि समय लाग्ने खालको समस्या देखियो भने आकस्मिक ड्राइभमार्फत् मानिसलाई अवतरण गराउँछौं, धेरै समय लाग्यो भने तलका यात्रुलाई तलैबाट फिर्ता गराउँछौं र माथिका यात्रुलाई माथि रिर्साेटमा लैजान्छौँ ।,” ढकालले भने ।

ठूलो हावाहुरी, चट्याङ परेका बेला समेत केबलकार पनि रोकिन सक्छ, रोकिँदैमा डराउनुनपर्ने ढकालको भनाइ छ।

केबलकारका इलेक्ट्रोनिक इञ्जिनियर सरोज चापागाईंले केबलकार रोकिएर कुनै पनि हालतमा दुर्घटना नहुने जिकिर गरे। “यदि प्राविधिक समस्या नै आइहाल्यो भने पनि अधिकतम ४० मिनेटमा आकस्मिक रूपमा मानिसलाई ओराल्ने काम हुन्छ, नत्र ५, १० मिनेटमा नै सुरक्षित रूपमा सञ्चालनमा आउँछ।” चापागाईले भने ।

विश्वकै उत्कृष्ट प्रविधि प्रयोग गरे पनि प्राविधिक समस्याका कारण केही समय केबलकार रोकिनसक्ने तर त्यसका लागि वैकल्पिक व्यवस्थाका लागि सधैं तयारी अवस्थामा रहने हुनाले पनि कुनै जोखिम नहुने सञ्चालकको भनाइ थियो।



प्रतिक्रिया दिनुहोस !