१० मंसिर २०८१, सोमबार

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्‍यो कोदोको परिकारको विकास

प्रकाशित मिति :  2 August, 2022 6:44 pm


काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोषण परिकार विकास अन्तर्गत सबै वर्गका लागि उपयुक्त हुने पौष्टिक कोदोको मम लगायतको विकास गरेको छ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले पोषण सम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत विभागले कोदोको परिकार बनाउने प्रविधिको विकास गरेको बताए। आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा यससम्बन्धी जानकारी गराइएको हो।

विभागका अनुसार आर्थिक वर्ष ०७८ /७९ मा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ४ हजार ६६० खाद्यका नमुना सङ्कलन गरेको छ । एक वर्षमा न्यूनस्तर तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा ११५ वटा कम्पनीविरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ।

काठमाडौं उपत्यकामा अपराध अनुसन्धान कार्यालयसँगको सहकार्यमा श्रीतारा फुडुस र स्पर्श वेकरी उद्योगमा छापा मार्दा खाद्य अनुज्ञापत्र नलिई संचालनमा रहेको पाइएकाले त्यस्ता कार्यलाई अगामी दिनमा हुन नदिन थप सशक्त तरिकाले अघि बढेको विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले जानकारी दिइन् ।

वर्षभरओ विभिन्र देशहरुमा निर्यात प्रयोजनका लागि दूध तथा दुध पदार्थ, मह, चिया, पिउने पानी तथा गेडागुडी लगायतका खाद्य पदार्थहरुको गुणस्तर प्रमाणिकरण गरेर निर्यातका लागि सहजीकरण गरेको विभागकी महानिर्देशक वैद्यले बताइन् ।

त्यस्तै कोभिडका कारण दुई वर्ष रोकिएको विश्व खाद्य स्वच्छता दिवस कार्यक्रम आर्थिक वर्ष यो वर्ष ‘स्वच्छ सन्तुलित आहार स्वस्थ जीवनको आधार’’ भन्रे नाराकासाथ साताव्यापी रुपमा मनाएको थियो ।

कृषि तथा पशुपन्छी विकास अन्तर्गतको विभाग खाद्य, दाना तथा पानी लगायतका पदार्थको नियमन गर्ने निकाय हो।



प्रतिक्रिया दिनुहोस !