जंकफुड, प्लाष्टिक माला र खादा पूर्ण बन्देज गर्न सबै विद्यालयलाई सुनिलस्मृति गाउँपालिकाकाे पत्राचार
रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले जंकफुड र प्लाष्टिक माला तथा खादालाई पूर्ण रुपमा बन्देज गर्न गाउँपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्राचार गरेको छ ।
आर्थिक वर्ष २०७९/०८० को पहिलो गाउँ कार्यपालिका बैठकले गाउँपालिका तथा मातहतका कार्यालयहरूमा प्रयोग हुँदै आएका जंकफुड र प्लाष्टिक माला तथा खादालाई पूर्ण रुपमा बन्देज गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार आज पत्राचार गर्दै गाउँपालिकाले भनेको छ, “यस गाउँपालिकाको आ.व. २०७९/८० को मिति २०७९/०४/१५ गतेको पहिलो गाउँपालिका बैठकको निर्णय नं. ५ मा गाउँपालिका तथा मातहतका कार्यालयहरुमा प्रयोग हुँदै आएका जंगफूड र प्लाष्टिक माला तथा खादालाई पूर्ण रुपमा बन्देज गर्ने जंकफूड तथा प्लाष्टिक माला तथा खादाको साटो स्थानीय स्तरमा उत्पादित वस्तुहरूको प्रोत्साहनका लागि स्थानीय स्तरमा उत्पादित वस्तुहरू प्रयोगमा ल्याउने निर्णय भएकाले विद्यालयले आयोजना गर्ने कार्यक्रम तथा विद्यालयको हाताभित्र जंकफूड तथा कोल्ड ड्रिङ्सकजस्त वस्तुहरूको बिक्री वितरण तथा प्रयोगमा रोक लगाउन हुन अनुरोध छ ।”
गाउँपालिकाले निर्णय कार्यान्वयन भए नभएको अनुगमन गर्न सबै वडा कार्यालयलाई भनेको अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिए ।