५ अर्ब खुद नाफा कमाएको नबिल बैंकको प्रतिसेयर आम्दानी घट्यो
काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९.८३ प्रतिशत मुनाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष समिक्षा अवधीमा बैंकको मुनाफा ९.८३ प्रतिशतले बढेको हो ।
समीक्षा अवधिसम्म बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ बढी खुद नाफा कमाएको छ भने अघिल्लो वर्ष सोही अवधिसम्म बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
अघिल्लो वर्ष बैंक संचालन मुनाफा ६ अर्ब २२ करोड रुपैयाँ रहेकोमा गत वर्ष समिक्षा अवधिमा १३.९८ प्रतिशतले बढेर ७ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै खुद व्याज आम्दानी अघिल्लो वर्षको तुलनामा १६.७९ प्रतिशतले बढेर ९ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधीमा बैंकले ८ अर्ब ७ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।
बैंकले ३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब १ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष बैंकले २ खर्ब २३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।
यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ९ अर्ब १२ करोड रुपैयाँ रहेको छ। नेपाल बंगलादेश बैंकलाई गाभेपछि नबिल बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। यो हिसाबले बैंकले ४० प्रतिशतसम्म लाभांश बाँड्ने क्षमता बनाएको छ।
बैंकको रिजर्भको आकार ६८.११ प्रतिशतले बढेर २६ अर्ब ३७ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १५ अर्ब ६९ करोड रुपैयाँमा सीमित थियो।
बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर १.५४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०.८४ प्रतिशत थियो।
सीडी रेसियो ८९.७९ प्रतिशत रहेको बैंकको आधार दर ८.७७ प्रतिशत रहेको छ। बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३३.५७ रुपैयाँबाट घटेर २६.८० रुपैयाँमा झरेको छ।
मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३२.८० गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २३०.३७ रुपैयाँ रहेको छ।