पोखराका पूर्व मेयरले गरेको सम्झौता खारेज, छानविनका लागि पत्रचार
काठमाडौं । पोखराका पूर्व मेयर मानबहादुर जिसीले गरेको निर्णय खारेज भएको छ । शुक्रबार एक कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पूर्व मेयरको कार्यकालको अन्तिम समयमा गरिएको सार्वजनिक जग्गा निजी कम्पनीलाई भाडामा दिने अपारदर्शी सम्झौता खारेज गरिएको बताए ।
मेयर आचार्यले भने “सम्झौता खारेज गरी छानबिनका लागि विभिन्न निकायलाई पत्राचार गर्ने निर्णयसमेत गरिएको छ ।”
सो कार्यमा अख्तियार दुरुपयोग गरेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनका लागि पत्राचार गरिने उनले बताए । पूर्व मेयर जिसीले गत जेठ ३ मा पोखराका विभिन्न ३ ठाउँका गरी ६३ रोपनी सार्वजनिक जग्गा फरक फरक ३ कम्पनीलाई भाडामा लगाउने सम्झौता गरेका थिए ।
सो कार्यका लागि नियमित प्रकाशित नहुने एक दैनिक पत्रिकामा टेण्डरका लागि सोबारेको सूचना प्रकाशन गरिएको थियो । जसको केही प्रतिमात्र छपाइ कतिपय कागजात कीर्ते देखिएकाले छानबिनका लागि नेपाल प्रहरीलाई पत्राचार गर्ने कार्यक्रममा बताइएको छ ।
अपारदर्शी ढंगले भएको सम्झौताबारे छानबिन गर्न समितिले नापी कार्यालय कास्कीका प्रमुख दिनेश काफ्लेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले छानबिन गरी प्रतिवेदन पेस गरेको हो ।