सामाजिक सुरक्षा भत्ता वितरण गर्न वालिङका जनप्रतिनिधि घरदैलोमा
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ । वडा नम्बर १४ को विभिन्न टोल तथा घर–घरमा पुगेर नगरप्रमुख खाँणले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेका हुन् ।
सामाजिक सुरक्षा भत्ता वितरण गर्दै नगरप्रमुख खाँणले जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरुलाई बैंकमा भत्ता लिन समस्या हुने भएकोले घरदैलोमा नै आएर भत्ता वितरण गरेको बताए ।
सामाजिक संजालमा जनप्रतिनिधिहरु नगरको विकास गर्न गएको भत्ता वितरणमा व्यस्त भएका नकरात्मक विषयलाई आफूले सकारात्मक रुपमा हेरेको जानकारी दिए । उनले भने, “वालिङबासीको कुरा ठिकै हो ।
म सबैको लागि काम गर्नको लागि नगरप्रमुखमा निर्वाचित भएको हो । त्यसैले मेरो कार्यकालभरि कसैलाई काखा र कसैलाई पाखा गर्दिन ।’’
पछिल्लो समयमा कोभिड १९ को संक्रमण पनि बढिरहेको हुँदा संक्रमणको जोखिम न्युनिकरणको लागि पनि घर दैलोमै आएर भत्ता वितरण गरिएको नगरप्रमुख खाँणको भनाइ थियो । नगरप्रमुख खाँणले नगरबासीहरुको समस्यामा नगर सदैव साथमा रहेको बताउँदै नगरपालिका नागरिकको दैनिकीको सहयात्री बन्ने स्पष्ट पारेका छन् ।
मेघा बैंक वालिङको समन्वयमा १ सय ५१ जना सेवाग्राहिहरुलाई सामाजिक सुुरक्षा भत्ता वितरण गरिएको नगरपालिकाले जनाएको छ ।