नेप्सेमा सामान्य गिरावट, लगानीकर्ता भन्छन : ‘अहिलेको बजारमा ८० प्रतिशत अवसर छ’
साताको कारोबारको चौथो दिन सेयरबजार सामान्य अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ५ अंकले घट्दा कारोबार रकम पनि २ अर्ब मुनि रहेको छ ।
अब अहिले बजारमा यस्तो भयो उस्तो भयो भनेर भनिरहनु भन्दा पनि सकरात्मक बन्नु जरुरी भएको जानकारहरु बताउँछन् ।
अहिले बजारमा छिर्नको लागी उत्तम अवसर रहेको सेयर लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् ।
उनि भन्छन् ‘हल्लाको पछाडी लाग्नु भन्दा अहिले भनेको २० प्रतिशत जोखिम र ८० प्रतिशत अवसर भएको अवस्था छ त्यसैले लगानी गर्न उत्तम समय हो राम्रो कम्पनी छानेर लगानी गर्नुहोस् ।’
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.११ अंकले घटेर १०५७.६८ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि १.६९ अंकले घटेर ३ सय ९५ रूपैयाँ ७४ पैसामा झरेको छ ।
बुधबार कारोबार रकमका आधारमा नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । कोषको १० करोड ६८ लाख ७९ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।
त्यस्तै आजको दिन हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
कूल २१८ वटा कम्पनीको ४६ लाख ४० हजार ८ सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ९३ करोड ५५ लाख २० हजार एक सय ४७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।