समाचार प्रभावः भीरकोट नगरपालिकाले गर्यो बेरुजु फर्स्योट
स्याङ्जा । भीरकोट नगरपालिकाले महालेखा परीक्षकको कार्यालयले देखाएको बेरुजु रकम फर्स्योट गरेको छ ।महालेखाको प्रतिवेदन अनुसार पालिकाले स्वीकृत दरवन्दी बेगर नियुक्ति भएका ९ जना कर्मचारीलाई ९ हजार ९०० का दरले ८९ हजार १०० पोशाक खर्च भुक्तानी गरेकोमा सो रकम असुल गर्नुपर्ने भनेको थियो । उक्त रकम कर्मचारीहरूको तलब भत्ताबाट कटौती गरी असुल उपर गरिसकिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूसालले जानकारी दिए ।
स्याङ्जाको भीरकोट नगरपालिकामा २०७४ सालको स्थानीय निर्वाचनपछि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई छिटोछरितो र प्रभावकारी बनाउन छायाराम खनाल नेतृत्वको सरकारले नौ जना सहायक कम्प्युटर अपरेटर पदमा नियुक्ती दिएको थियो । २०७४ सालदेखी ७७ सालसम्म दरबन्दी स्वीकृत नगरि कर्मचारी नियुक्ति गरी तलब तथा पोशाक भत्ता समेत वितरण गरिएको विषयलाई महालेखा परीक्षकको कार्यालयले बेरूजु कायम गरिदिएको थियो ।
पालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको मापदण्ड विपरीत सहायक कम्प्युटर अपरेटर पदमा ९ जना कर्मचारी नियुक्ती गरेर लाखौँ रकम भुक्तानी गरेको विषयमा लुम्बिनी सञ्चार देखि अन्य विभिन्र संचार माध्यममा समेत भीरकोटको बेथिति भनेर प्रकाशित गरेका थिए ।
पालिकाले सहायक कम्प्युटर अपरेटर पदमा ९ जनालाई दशैँ खर्च समेत गरी १३ महिनाको २५ लाख ९३ हजार ८९० भुक्तानी गरेको रकम अनियमित देखिएको महालेखा परीक्षक कार्यालयद्धारा सार्वजनिक ५९ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ । दरबन्दी सृजना भैसकेको र असुल उपर गर्नुपर्ने बेरूजु रकम पनि असुल गरिसकिएकाले उक्त बेरूजु नियमित भैसकेको र महालेखा परीक्षकको कार्यालयले संपरीक्षण गरेपछि यस सम्बन्धि कुनै पनि बेरूजु नरहने प्रमुख प्रशासकीय अधिकृत भूसालले जानकारी दिए ।
त्यस्तै पालिकाले बालबालिकाको हक हितको संरक्षण तथा सम्वर्धन गर्ने उदेश्यबाट बालमैत्री अभियान कार्यक्रम संचालन गर्दा बील भरपाई विना कूल २८ लाख ८० हजार ५३६ खर्च भएकोमा कार्यक्रमको लागि पेश्की लिई फछयौट गर्ने शिक्षा अधिकृत नविन थापाले २९ लाख भुक्तानी लिएको पाइएको थियो । अहिले पालिकाले बिल भन्दा बढी भुक्तानी लिएको १९ हजार ६६१ भुक्तानी असूल गरेर संचित कोषमा दाखिला गरेको छ ।