रसुवाको थाम्बुचेतमा झडप हुँदा ८ प्रहरी घाइते
रसुवा । रसुवाको थाम्बुचेतमा प्रहरी र स्थानीय गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन्।
गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जलविद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको हो।
सो झडपमा दुई प्रहरी निरीक्षकसमेत आठ प्रहरी घाइते भएका छन् । आन्दोलनरत पक्षले विद्युत् आयोजनाका सवारी साधन तथा कार्यालयको भौतिक संरचना तोडफोड गर्न थालेपछि दुई पक्षका बीचमा झडप भएको थियो।
घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एकरएक प्रहरी निरीक्षकसहित तीन सशस्त्र प्रहरी र तीन नेपाल प्रहरी छन्।
आन्दोलनरत गतलाङवासीको मागलाई साञ्जेन जलविद्युतका आयोजना प्रमुख र सञ्जेन जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक समेतका कम्पनी बोर्डका पदाधिकारी समेतले स्थानीयको माग बेवास्ता गरी प्रहरीसँगको झडप गराउने स्थिति सिर्जना गराएको उनीहरूले आरोप लगाए
स्थानीयले सञ्जेन जलविद्युतका थाम्बुचेतस्थित कार्यालय र ग्यारेज परिसरमा प्रवेश गरी टिपर एक, हाइलक्स छ, लोडर दुई, छवटा मोटरसाइकल अफिस, तथा टेबुल कुर्सीसमेत तोडफोड गरेका जनाइएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका संयुक्त सुरक्षा बलले अश्रु ग्यास र फाइरिङ गरी स्थिति नियन्त्रणमा लिएका थिए। रु ७५ लाख बराबरको भौतिक संरचना क्षति भएको प्रारम्भिक अनुमान गरिएको र क्षतिको यकिन तथ्याङ्क निकाल्ने काम भइरहेको जिल्ला प्रहरी प्रवक्ता विष्णुप्रदीप बत्स्यालले बताए।
स्थिति नियन्त्रणको क्रममा गतलाङका स्थानीय पनि पक्राउ परेका छन्। सागर तामाङ, राजनलामा, पूर्णबहादुर तामाङ, चन्द्रमान तामाङ र पासाङ छेवाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
साञ्जेन जलविद्युत् कम्पनीमा जिम्मेवार कर्मचारीले मात्र एकाधिकार निर्णय गरी आफूहरुलाई उपेक्षा गरेको गतलाङ्वासीको भनाइ छ।रासस