९ मंसिर २०८१, आइतबार

चिलिमे जलविद्युत्को मुनाफा ७६ करोड रुपैयाँ पुग्यो

प्रकाशित मिति :  15 August, 2022 2:28 pm


काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीको खुद मुनाफा १५ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/०७९ को अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष खुद मुनाफामा १५ प्रतिशतले वृद्धि भएर ७६ करोड रुपैयाँ कमाएको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी ७६ करोड ७८ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनामा १५ प्रतिशत बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६६ करोड ६१ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कुल २ अर्ब २३ करोड रुपैयाँ कम्पनीले मुद्दती निक्षेपमा लगानी गरेको छ । यस्तै, ३८ करोड ७४ लाख रुपैयाँ निर्माणाधीन आयोजनामा लगानी भएको छ । कम्पनीले कुल ५ अर्ब ९५ करोड रुपैयाँ सहायक कम्पनीहरुमा लगानी गरेको देखिन्छ ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले १ अर्ब १८ करोड १७ लाख ४० हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब १२ करोड ८० लाख ५२ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

जलविद्युत आयोजना सञ्चालन गरी विद्युत बिक्री व्यापार गरेको चिलिमेले १४ करोड ४२ लाख रुपैयाँ रोयल्टी बुझाएको छ। त्यस्तै, आयोजनाको सञ्चालन खर्च १० करोड ६० लाख रुपैयाँ छ।

चुक्ता पूँजी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार रुपैयाँ रहेको कम्पनीको रिटेन अर्निङ्सको आकार ३ अर्ब ६४ करोड २१ लाख १६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११.२६ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ९४ पैसा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !