भदौमा व्याजदर नबढ्ने भएपछि नेप्सेमा ५५ अंकको उछाल
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा उछाल आएको छ । सोमबार नेप्से परिसूचक ५५ अंकले बढेको छ भने कारोबार रकमपनि लगभग साढे दुई अर्ब पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ५५.८८ अंकले बढेर २०६५ं.८९ अंकमा पुगेको छ। त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ११.२३ अंकले बढेर ३९८.१३ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ वटा उपसमुहमध्ये सबै उपसमुहमा हरियाली छाएको छ । सोमबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको २१ करोड २ लाख ५२ हजार ३ सय ६७ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टिप्रपोज फाइनान्स, राधी विद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी तीनै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने अन्य १० वटा कम्पनीको सेयरमूल्य ९ प्रतिशतले बढेको छ ।
त्यस्तै आज रिडी पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयमूल्य ९.९९ प्रतिशतले घटेर नकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।
कुल २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६ सय ११ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज बैंक तथा वित्तीय संस्थाहरुले भदौं महिनामा व्याजदर स्थिर राख्ने निर्णयले पनि लगानीकर्ताको मनोबल केही उँचो हुँदा बजारमा सकरात्मक प्रभाव परेको सेयर बजारका जानकारहरु बताउँछन् ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ र विकास बैंकहरुको छाता संगठन नेपाल डेभलपमेन्ट बैंकर्स एशोसिएशनले भदौ महिनामा निक्षेपको व्याजदर साउन महिनाकै अधिकतम ११.०३ कायम गरेको छ । त्यस्तै संस्थागत मुद्दती निक्षेपमा ९.०३ प्रतिशतसम्म व्याज दिने निर्णय गरेको छ ।