राष्ट्रपतिले फिता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधि सभामा पेस
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधि सभामा पेस भएको छ ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिपछि प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले उक्त पत्र पढेका सुनाएका हुन् ।
पत्रमा साउन ६ गते नै पारित भएर सभामुखबाट प्रमाणित भई राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको विधेयक संशोधन हुनु वाञ्छनीय भएको भन्दै सन्देशसहित फिर्ता पठाउने निर्णय भएको उल्लेख छ ।
साउन १५ गते संघीय संसद्को दुवै सदनबाट पारित भएर विधेयक प्रमाणीकरणका लागि पठाइएको थियो । राष्ट्रपति भण्डारीले १५ दिनसम्म अध्ययनमा राखेर १५ बुँदे टिप्पणीसहित प्रतिनिधिसभामा संशोधनका लागि पठाएकी थिइन्।
सचिव योगीले पढेर सुनाएको पत्रमा, ‘प्रतिनिधि सभाको वि.सं. २०७९ साल साउन ६ गतेका दिन बसेको बैठकबाटसमेत पारित भइ सम्माननीय सभामुखज्यूबाट प्रमाणित भइ प्रमाणीकरणका लागि सम्माननीय राष्ट्रपति ज्यूसमक्ष पेस भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको सन्दर्भमा यो पत्र लेखिँदै छ’, पत्रमा भनिएकोा छ, ‘प्रमाणीकरणका लागि प्रस्तुत हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसद्बाट पुनः गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनः विचार हुन वाञ्छनीय भएकोले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी ज्यूबाट नेपालको संविधानको धारा ११३ को उपधारा ३ बमोजिम सन्देशसहित यो विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउने निर्णय भएकोले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक यसैसाथ पठाइएको व्यहोरा सादर अनुरोध छ।’ उल्लेख छ ।
योसँगै अब यो विधेयक संसद्को सम्पत्ति भएको छ। अब प्रतिनिधि सभाले आवश्यक छलफलसहित आवश्यक भएमा संशोधन गरेर नत्र सोही रुपमा पारित गरी राष्ट्रिय सभामा पठाउनेछ। राष्ट्रिय सभाबाट पनि पारित भएपछि प्रमाणीकरणका लागि फेरि राष्ट्रपतिसमक्ष जाने छ ।