नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने गठबन्धनको निर्णय
काठमाडौं । सत्तारुढ गठबन्धनले नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सहित बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेता सम्मिलित बैठकले संसदबाट आवश्यक प्रक्रिया पूरा गरी विधेयकलाई फेरि राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो ।
राष्ट्रपतिले उक्त विधेयक पुनर्विचारका लागि फिर्ता पठाइसकेको अवस्थामा संवैधानिक प्रक्रियाअनुसार संसदमा छलफल गरी यथास्थितिकै विधेयकलाई प्रमाणीकरणका लागि फेरि पठाउने तयारी भएको सूचना तथा प्रविधी मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि साझा धारणा बनाउन मंगलबार गठबन्धनको बैठक बसेको थियो ।
१५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपतिले उक्त विधेयक सोमबार प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् ।
संविधानले राष्ट्रपतिलाई एक पटकका लागि त्यसरी विधेयक फिर्ता पठाउन सक्ने अधिकार दिएको छ ।