सुरक्षाकर्मी परिचालन गरी काठमाडौंको फोहोर बञ्चरेडाँडा लगिँदै
काठमाडौं । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर आज बुधबार पनि प्रहरी परिचालन गरी बञ्चरेडाँडा लगिँदैछ। स्थानीयको अवरोध कायमै रहेकाले आज पनि प्रहरी परिचालन गरेर फोहरी व्यवस्थापन गर्न लैजान लागिएको हो।
मंगलबार प्रहरी प्रशासनको सहयोगमा १८६ गाडी फोहोर ल्यान्डफिल साइटमा लगिएको थियो। स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गर्दै केही राउण्ड हवाई फायर समेत गरेको थियो ।
स्थानीले सडक निर्माण तथा मर्मत सकिनुपर्ने लगायतका माग पूरा हुनुपर्ने बताउँदै सडकमा अवरोध गर्दै आएका छन्। सशस्त्र प्रहरी बेस क्याम्प बञ्चरेका नायब निरीक्षक युवराज रिजालका अनुसार स्थानीयहरू बुधबार पनि डाँडामा जम्मा भएर बसेका छन्। ढाँडखोला नजिक ४१ वटा गाडी फोहोर खन्याउन लाइनमा बसेका छन्।
नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार फोहोर बोकेर गएका १ सय सवारी साधन मुड्खुबाट अगाडि बढिसकेका छन्। कतिपय ठाउँमा सडक साँघुरो भएकोले आवागमन सहज नहुनाले तीनतिप्ले, सिसडोल र आलेटारमा केही गाडी रोकिएका छन्।