४ आश्विन २०८१, शुक्रबार

स्थानीय सरकारकै कारण भीरकोट नगर अस्पतालको बजेट फ्रीज भयोः पूर्वमन्त्री अर्याल

प्रकाशित मिति :  19 August, 2022 12:14 pm


स्याङ्जा । नेकपा एमालेकी केन्द्रिय सचिव पद्मा अर्यालले स्थानीय सरकारकै कारण भीरकोट नगर अस्पतालको बजेट फ्रीज भएको बताएकी छन् ।

स्याङ्जा भीरकोट नगरपालिकामा नेकपा एमाले भीरकोट नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वमन्त्री अर्यालले भनिन्, “म मन्त्री हुँदा भीरकोट नगरको गरिमा बन्न सक्ने योजना तयार गरी भीरकोट नगर अस्पताल बनाउन १९ करोड विनियोजन गर्न पहल गरेकी थिएँ । अस्पतालको शिलान्यास पनि भएको थियो । तर भीरकोट नगरपालिकाले प्राविधिक कारण देखाई बजेट फ्रिज गराउनु निकै दुखद कुरा हो ।”

विकास भन्ने कुरा साझा हुने र विकासले समाजका सबै मानिसहरुलाई समेट्ने भन्दै उनले विकासका काममा राजनीति नगर्न जनताको नाममा राजनीति गर्नेहरूलाई चेतावनी दिएकी थिइन् । भीरकोट नगरपालिका भित्रका सहायक सडकहरूको कालोपत्रे गर्ने काम एमालेकै सरकारको पालमा भएको बताउँदै भीरकोट मुहार फेर्ने सबै योजना गठबन्धन सरकारले काटेको उनको आरोप थियो ।

नागरिकता विधेयकदेखि महँगी र हालका सम्पूर्ण क्रियाकलापलाई नेकपा एमालेले नियालिरहेको र यी सबै क्रियाकलाप विरुद्ध सशक्त प्रतिकार गरिरहेको अर्यालले बताएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !