आर्थिक उर्पाजनको लागि भीरकोट नगरपालिकाले संचालन गर्यो पकेट कार्यक्रम
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले आर्थिक उपार्जनका लागि बङ्गुर, बाख्रा र सुन्तला पकेट कार्यक्रम सुरु गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गण्डकी प्रदेश पोखराबाट विनियोजन भएको एक करोड ४० लाख रुपैयाँ र नगरपालिकाबाट ६० लाख रुपैयाँको लागत साझेदारीमा चालु आर्थिक वर्ष २०७९ र २०८० को सुरुआत चरणबाट कार्य थालिएको भीरकोट नगरपालिकाका प्रवक्ता एंवम वडा नम्बर १ का वडाअध्यक्ष दिपेन्द्र केसीले बताए ।
नगरपालिकाले बङ्गुर पकेट कार्यक्रमका लागि २५ परिवार आबद्ध रहेको दुई समूह, बाख्राका लागि २५ परिवार आबद्ध रहेको तीन समूह र सुन्तलाका लागि २५ परिवार आबद्ध रहेको दुई समूहलाई वडा÷वडामा छनोट गर्न लागेको केसीले बताए । त्यस्तै कार्यक्रमबाट एक सय ७५ परिवार प्रत्यक्ष लाभान्वित हुने छन् ।
बङ्गुर र बाख्रा पकेट कार्यक्रम सञ्चालन भएका ठाउँका किसानलाई वस्तुगत सहायता, यन्त्र उपकरण, खोर निर्माण, औषधि, प्राविधिक सहयोग, बङ्गुर तथा बाख्राका पाठापाठी, माउ उपलब्ध गराउनुका साथै आवश्यक तालिम प्रदान गरिने छ । भीरकोट नगरपालिकाका वडा नं १, २, ५, ६, ८ र ९ मा बङ्गुर पकेट, २, ३, ४, ६, ७, ८ र ९ मा बाख्रा पकेट तथा वडा नं १ र ७ मा सुन्तला पकेट निर्धारण गरी कार्य थालिएको हो ।
नगरपालिकाका ९ वटै वडाका आर्थिक र सामाजिक हिसाबले पछाडि परेकालाई स्वावलम्बी बनाउने लक्ष्यसहित पालिकाले पकेट कार्यक्रम सुरु गरेको हो ।