विद्युत् प्राधिकरणले साउनमा पौने २ अर्बको बिजुली भारत निर्यात गर्यो
काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०७९/ ८० को पहिलो महिना साउनमा झण्डै पौने २ अर्ब रुपैयाँ बढिको विद्युत् भारततर्फ निर्यात गरेको छ ।
साउन महिनामा देशभित्र खपत गरेर बढि भएको १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँ बराबरको २४ करोड भन्दा बढि युनिट बिजुली भारत निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले बिजुी निर्यातबाट साउनमा मात्रै औसत दैनिक ५ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ। ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत भारततर्फ निर्यात भइरहेको छ।
प्राधिकरणले गत जेठ १९ गतेबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड ९आईएक्स०को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिजुली बिक्री सुरु गरेको थियो। सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो।
गत जेठ २७ गतेबाट दैनिक रुपमा ६ वटा जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ।
गत आर्थिक वर्ष २०७८/७९मा प्राधिकरणले ३ अर्ब ८८ करोड रुपैयाँको विद्युत भारतमा निर्यात गरेको थियो।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको बर्खायामको थप १११ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड ९आईएक्स०को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ।
प्राधिकरणले ४ जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेस गरेको हो। केन्द्रीय विद्युत प्राधिकरणबाट अनुमति पाएपछि थप विद्युत निर्यात सुरु हुनेछ।
योसँगै वर्षायाममा देशभित्रको माग भन्दा बढी उत्पादन गर्न सकिने अवस्था आएकोले भारतीय बजारमा प्रतिस्पर्धामार्फत विद्युत बिक्री गर्न सफल भएको प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुका साथै हाम्रो देशको विदेशी मुद्रा सञ्चितीमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको छ, दुई मुलुकबीचको व्यापार घाटालाई समेत केही कम गर्न सहयोग भएको छ’, घिसिङले भने, ‘मुलुकमा विद्युत उत्पादन दिनानुदिन थप हुँदै गइरहेको हुँदा घरायसी खपत र औद्योगिक खपत बढाउन आवश्यक छ, यसका लागि प्रसारण तथा वितरण लाइनको विकास र सुधार गर्नुका साथै उद्योगीले विशेष सेवा र सुविधा प्राप्त गर्ने ब्यवस्था मिलाइने छ ।’