९ मंसिर २०८१, आइतबार

सरकारले गर्यो बेलायत नर्स लैजाने सम्झौता

प्रकाशित मिति :  22 August, 2022 3:03 pm


काठमाडौं । नेपाल र बेलायतबीच श्रम सम्झौता भएको छ । सोमबार जीटूजी (सरकार सरकारबीचको समझदारी) मोडलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा हस्ताक्षर भएको हो । बेलायतमा नेपाली नर्स र स्वास्थ्य क्षेत्रमा कामदार जान पाउनेछन्।

सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायत सरकारको तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोल पोलिटले हस्ताक्षर गरेका छन् ।

पहिलो चरणमा कम्तीमा एक हजार नर्स पठाउने गरी सम्झौता भए पनि कति पठाउन सकिने संख्या भने सम्झौतामा उल्लेख गरिएको छैन ।

रोजगारीका लागि बेलायत जान चाहने नर्सले इन्टरनेसनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षामा ६.५ अंक प्राप्त गर्नुपर्नेछ । बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिनुपर्ने, पाँच वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने, आईईएलटीएस अनिवार्य गर्नुपर्ने, २० देखि ४५ वर्ष उमेर समूहका नर्स पठाइने, दक्षताका आधारमा उनीहरूले आईईएलटीएसमा ६ अंक ल्याउनुपर्ने सर्त छन् ।

साढे दुई वर्ष सरकारले मान्यता दिएका अस्पतालमा काम गरेका नर्सले आईईएलटीएस परीक्षामा सहभागी हुन पाउने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !