हिमालयन बैंकले २.५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै
काठमाडौं । हिमालयन बैंक लिमिटेडले साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले यही भदौ १५ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ भएको ‘हिमालयन बैंक लिमिटेड बन्ड २०८६’ नामक ऋणपत्र बिक्री खुला गर्ने भएको हो।
कुल इकाइमध्ये बैंकले १५ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी १० लाख इकाइ भने सर्वसाधारणका लागि निष्कासन गरिनेछ। जसमा सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ५० हजार इकाइ छुट्याइएको छ।
यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाइसम्म खरिद आवेदन दिन पाउनेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन पाइनेछ।
बैंकले उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
यो ऋणपत्रको निष्कासन बन्द छिटोमा भदौ १९ गते र ढिलोमा भदौ २९ गतेसम्म बिक्री खुला गरिने बैंकले जनाएको छ । ७ वर्ष अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले १०.५० प्रतिशत व्याज पाउने छन् ।