धरान पुगेर वृक्षारोपण गर्दै प्रचण्डले भने : हर्कको व्यवहारबाट प्रेरणा लिनुहोस्
काठमाडौं । श्रमदानको लागि धरान जाने बाचा गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरान पुगेका छन् । केही दिनअघि धरान उपमहानगरपालिकाका मेयर हर्क बहादुर साम्पाङले प्रचण्डलाई भेटेर श्रमदानको लागि धरान आउन निम्तो दिएका थिए ।
धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपणको श्रमदान कार्यमा उनले मेयर साम्पाङलाई साथ दिए । मेयर साम्पाङको आव्हानमा साप्ताहिकरूपमा हरेक शुक्रबार वृक्षारोपण हुँदै आएको छ । जेवी टुहुरेको स्मृतिमा आयोजना गरिएको कार्यक्रममा प्रचण्डले बिरुवा रोप्नुका साथै पानी हाले ।
धरानको लागि साम्पाङ एक अवसर भएको बताउँदै प्रचण्डले आफ्ना कार्यकर्तालाई भने ‘सिंगै देशले उहाँको कामलाई बडो गम्भिरतापूर्वक हेरेको छ, खासगरी हामी कम्युनिष्ट अझ माओवादीले गरिराख्नपर्ने काम उहाँले गरिराख्नुभएको छ । म पार्टीका साथीहरू र देशका सबै श्रमजिवी जनतालाई पनि हर्कको व्यवहार र आचरणबाट प्रेरणा लिन अनुरोध गर्दछु’,
साथै प्रचण्डले एक प्रगतिशिल गायक, असाध्यै लोकप्रिय जेबि टुहुरेलाई स्मण गर्दै आजको वृक्षरोपण उहाँकै लागि सर्मपित भएको घोषणा गरे ।