अनाधिकृत संरचना हटाउने महानगरको अभियानमा मेरो साथ छ : उपमेयर डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अनधिकृत संरचनाहरू हटाउने महानगरको अभियानमा आफू सँगै रहेको स्पष्ट पारेकी छन् ।
उनले सामाजिक सञ्जालमा एक अपील सार्वजनिक गर्दै यो अभियानमा आफ्नो साथ, सहयोग र समर्थन रहेको बताएकी छिन् ।
सामाजिक सञ्जालमा उपमेयर डंगोलले लेखेकी छन् : ‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाडौँ महानगरपालिकाले निरन्तरता दिदैँ आएको विदितै छ,’ उनले अपिलमा भनेकी छिन्,’ ‘त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाको हो । म काठमाडौं महानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले काठमाडौँ महानगरपालिकाको यो अभियानमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ।’
सामाजिक सञ्जालमा स्टाटस लेख्दै सुनिताले अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरको भएकाले कानून कार्यान्वयन गर्ने सबै कार्यमा उपमेयरको हैसियतले आफ्नो साथ, सहयोग र समर्थन रहेको स्मरण गराएकी हुन् । आफ्नो विषयमा केही अनलाइन मिडियाले भ्रम पैदा गरेको भन्दै उनले प्रतिवादसमेत गरेकी छन् ।
साथै उनले पत्रकारिताको धर्म र मर्मलाई समेत सामान्य हेक्का नराखी वा मसँग जोडिएका समाचारमा मेरो कुनै प्रतिक्रिया नै समावेश नगरी एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यले पत्रकारिताप्रतिको विश्वसनीयता नै कमजोर हुनेप्रति ख्याल राखिदिनुहुन अनुरोध समेत गरेकी छन् ।