राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रिय सभामा
काठमाडौं । राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ । आइतबार बसेको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्बिचारका लागि फिर्ता भएको नागरिकता विधेयकक बाचन गरेर सुनाएका थिए ।
आइतबार राष्ट्रियसभामा फिर्ता विधेयकबारे जानकारी गराएकाले अब अर्को बैठकमा छलफल हुन सक्ने स्रोतले बताएको छ ।
राष्ट्रपतिबाट फिर्ता भएको विधेयक प्रतिनिधिसभाबाट २ भदौमा हुबहु पारित भइसकेको छ । अब राष्ट्रिय सभाले पनि पारित गर्नुपर्छ । राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पारित गर्नुपर्छ ।
राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो पत्रमा नागरिकता विधेयक संसदको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ ।
राष्ट्रपति भण्डारीले प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसद्बाट पुनर्विचार हुन आवश्यक देखिएको भन्दै प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।