क्षणभरमै ढले भारतको नोयडाका दुई गगनचुम्बी टावर
काठमाडौं । भारतको नोयडामा कानुन विपरीत निर्माण गरिएका दुईवटा टावर (अग्ला भवन) सुरक्षित रुपमा भत्काइएको छ ।
सुपरटेक बिल्डरले निर्माण गरेका यी टावर एपेक्स र केयन नामका ३० र ३१ तले गगनचुम्बी भवन पलभरमै माटोमा मिसिए ।
टावर भत्काउन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरिएको भारतीय संचारमाध्यामले जनाएका छन् ।
भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खालि गरिएको र नजिकै रहेका भवनहरु त्रिपाल लगाएर छोपिएको थियो ।
सुपरटेकले भवन आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै भारतको सर्वोच्च अदालतले टावर भत्काउन आदेश दिएको थियो । भवन भत्काउन र भत्काएपछिको सफाइमा लाग्ने सबै खर्च कम्पनीले व्यहोरेको छ ।
भारतीय सरकारी अधिकारीका अनुसार ट्विन टावरलाई जियोटेक्सटाइल कपडाले छोपिएको छ । विज्ञहरूका अनुसार यो कपडाले विस्फोटको समयमा यताउता फोहोर फैलिनबाट जोगाउने छ, साथै ग्यास पाइपलाइनको सुरक्षा गर्न स्टिल प्लेट राखिएको छ।