त्रिभुवन विश्व विद्यालयको समस्या समाधान गर्न सभामुखको रुलिङ
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्न रुलिङ थालेका छन् ।
आज बसेको संसद बैठकको सुरुमै नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिविमा सरकारको संरक्षणमा गुण्डागर्दी भएको भन्दै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएपछि सभामुखले विश्वविद्यालयमा देखिएको तालाबन्दी लगायतका समस्या शीघ्र समाधान गर्न सरकारलाई निर्देशन दिएका छन् ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले त्रिभुवन विश्वविद्यालयमा केही समय यता तालाबन्दी लगायतका समस्या कायम रहेको भन्दै यो समस्या समाधानका लागि रुलिङ नभएसम्म संसदको बैठक सञ्चालन हुन नसक्ने अडान राखेको थियो ।
यसअघि ज्ञवालीले विश्वविद्यालयमा भएको गुण्डागर्दीबारे कुलपति समेत रहेका प्रधानमन्त्री मौन बनेको भन्दै आपत्ति जनाएका थिए ।
त्यस लगत्तै सभामुख सापकोटाले त्रिभुवन विश्वविद्यालयमा भएका तालाबन्दी लगायत विरोधका कार्यक्रमले शैक्षिक एवं पठनपाठन प्रभावित भएको भन्ने विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै यो समस्या शीघ्र समधान गर्न सरकारलाई निर्देशन दिए ।