तातोपानी नाका बन्द भएपछि कृषि पेशामा
सिन्धुपाल्चोक । विसं २०७२ को भूकम्पअघि तातोपानी नाकामा व्यापार गरेर वार्षिक लाखौँ कमाउने भोटेकोसी गाउँपालिका–१ लिस्तीका अर्जुन सापकोटाले नाका बन्द भएपछि विकल्पको रूपमा कृषि पेशा रोजेका छन् । सापकोटाले लिस्तीको सेमुङ र चतलीमा तीन सय ३० रोपनी जग्गा भाडामा लिएर कृषि पेशा सुरु गरेका हुन् ।
तातोपानी नाका बन्द भएपछि रु एक करोड ५० लाखको लगानीमा कृषि व्यावसाय सुरु गरेका सापकोटाले किवी, आलु, लसुनको खेती तथा उन्नत जातका बाख्रापालन गरेका छन् । उनले गत वर्ष मात्र किवीबाट रु पाँच लाख आम्दानी गरेको बताए । सापकोटाले यो वर्ष किवीको मात्रै तीन हजार सात सय बिरुवा लगाएका छन् र १० जना जतिलाई रोजगारीसमेत दिएका छन् ।
सापकोटाले अबका ‘केही समयमा नै कृषि व्यवसायबाट वार्षिक रु २५ लाख बराबरको आम्दानी गर्ने सोच रहेको बताए । सापकोटाले आफूले मात्रै नभएर गाउँका एक सय घरपरिवारलाई पनि आधुनिक कृषि प्रणालीमा जोडेका छन् ।
अहिले गाउँका एक सय घरपरिवार मिलेर पाँच सय रोपनी जग्गामा सामूहिक आलुखेती गरेका छन् । उक्त सामूहिक खेतीबाट यस वर्ष रु ५० लाखको आलु उत्पादन भएको छ । उनीहरूको यो उदाहरणबाट गाउँका अरु नागरिक पनि यस्तै पेशातर्फ आकर्षित भएका छन् । तातोपानीबाट सामान ल्याएर यहाँ र काठमाडौंमा नै व्यापार व्यवसाय गर्ने गरेका यहाँका कैयौँ स्थानीय सो नाका बन्द भएपछि यहाँ कृषि पेशा अपनाउन पनि थालेका छन् । रासस