म पछाडिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन महाअभियोग प्रस्ताव : जबरा
काठमाडौं । निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले आफु पछाडिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन आफू विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको बताएका छन् ।
बुधबार बयानका लागि महाअभियोग सिफारिस समितिमा गएका उनले हाल कायममुकायम प्रधानन्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायधिश बनाउन आफू विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको बताए ।
‘प्रधानन्यायधीशलाई कमजोर बनाएर न्यायपालिकालाई कमजोर बनाउन खोजिएको छ ।’ जबराले भने ‘सरोकारवाला र राजनीतिक दलहरूको सुझाव अनौपचारिक रुपमा पनि लिने अधिकार हुन्छ तर संवैधानिक रुपमा प्राप्त अधिकार र जिम्मेवारी निर्वाह गर्दा दलहरूबाटै प्रश्न उठाएर न्यायलयलाई कमजोर बनाउने काम भयो यो म बाट भएको त होइन नि ।’
त्यस्तै २०७८ असार २८ मा शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने र प्रतिनिधिसभाको दोस्रो विघटन रद्द गर्ने फैसलापछि के गरेको थिएँ र महाभियोग आएको हो भनेर प्रतिप्रश्न गरे ।
उने भने ‘मेरोविरुद्ध न्यायाधीशहरुलाई म्यानिपुलेट गरियो । २०७८ असार २८ अगाडि महाअभियोग किन ल्याइएन ? मविरुद्ध बारदेखि मिडियासम्मलाई उचालियो । म प्रस्ट रुपमा भन्छु केही न्यायाधीशलाई असार २८ को फैसलाका बेला निवेदक पक्षले आश्वासन दिएको थियो ।’