२४ घण्टाभित्र कर तिर्न काठमाडौं फनपार्कलाई महानगरको अल्टिमेटम
काठमाडौं । काठमाडौं फन पार्कले २०७२ सालदेखि कर नतिरेको भन्दै काठमाडौं महानगरपालिकाले कर तिर्न अल्टिमेटम दिएको छ । महानगरका प्रमुख बालेन शाहको निर्देशनमा फनपार्कलाई विभागीय प्रमुख डा.शिवराज अधिकारीले २४ घण्टे पत्र काटेका हुन् ।
महानगरपालिका वडा नम्बर २८ मा भृकुटीमण्डपमा समाज कल्याण परिषद्को जग्गा भाडामा लिएर व्यवसाय गर्दै आएको फनपार्कले व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर नतिरेको अधिकारीले बताए ।
फनपार्कले वर्षमा व्यवासय कर बापत करिब २० हजार रुपैयाँ तिर्नुपर्ने राजस्व विभाग प्रमुख शिवराज अधिकारीले बताए । यस्तै, फनपार्कले मनोरञ्जन कर पनि महाननगरलाई नबुझाएको पाइएको छ ।
फनपार्कमा दैनिक सयौंको संख्यामा पैसा तिरेर जाने गरेका छन् । मनोरञ्जन करमार्फत् महानगरले आगन्तुकले तिरेको पैसामध्ये ५ प्रतिशत लिन्छ । उक्त रकममध्ये ६० प्रतिशत महानगर र बाँकी ४० प्रतिशत प्रदेश सरकारको खातामा जाने अधिकारीले जानकारी दिए ।
कर तिर्न महानगरले पटक पटक ताकेता गर्दा समेत उक्त कर प्राप्त नभएकोले २४ घण्टाभित्र बुझाउन पत्रमार्फत निर्देशन दिँदै तोकिएको समयभित्र राजश्व नबुझाएमा फनपार्क शिलबन्दी गर्ने चेतावनी दिइएको छ।