कान्ति बाल अस्पतालका कर्मचारीको आन्दोलन जारी, हातमा कालोपट्टी बाँधेर काममा
काठमाडौं । कान्ति बाल अस्पतालका विकास समितिका कर्मचारीहरु २४ बुँदै मागसहित आन्दोलनमा उत्रिएका छन् । हिजो बुधबार देखि विरोध स्वरुप हातमा कालो पट्टि बाँधेर काम गरिरहेका छन् ।
बिहीबार पनि ११ बजे अस्पताल प्राङगणमा कोणसभा गरी हातमा कालो पट्टी बाँधेर काम सुरु गरिरहेका छन् ।
संघर्ष समितिका अस्पतालका ल्याब टेक्निसियन समशेर नेपालीले आन्दोलनले सेवालाई केही प्रभाव नपारेको भन्दै कालो पट्टी बाँधेर काम गरिरहेको बताए ।
अस्पतालमा सञ्चालक समिति गठन गर्नुपर्ने, कर्मचारीको नवीकरण गर्नुपर्ने, अनियमित खरिदको छानबिन गर्नुपर्ने, निर्देशक र लेखा अधिकृतले अस्पतालले छोड्नुपर्नेलगायत २४ बुँदे लगायत माग राख्दै उनीहरू आन्दोलितमा उत्रिएका हुन् ।
करारका कर्मचारीको नवीकरण गर्नुपर्ने, लामो समयदेखि स्थायी हुन नसकेका कर्मचारीको स्तरवृद्धि र तह मिलान गर्नुपर्नेजस्ता मागहरू पनि २४ बुँदामा रहेका छन् ।
हाल अस्पतालमा विकास समितिका तर्फबाट ३०० जना कर्मचारी छन् । २०७३ बाट अस्पताल व्यवस्थपान समिति गठन नहुँदा तलब भत्ता, वृद्धि विकास सबै रोकिएको आन्दोलमा सहभागी एक कर्मचारीले बताए ।
यही भदौ २१ गतेसम्म आफ्ना मागहरु पुरा नभए निर्देशक र लेखा अधिकृतको कार्यकक्षमा ताला लगाउने उनिहरुको भनाई छ ।