सेयरबजारमा झिनो गिरावट, नेपाल टेलिकमको सर्वाधिक कारोबार
काठमाडौं । कारोबारको पाँचौदिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहिबार)सेयर कारोबार मापक नेप्से परिसूचक १.०८ अंकले घटेर १९७२.२९ को अंकमा झरेको छ ।
त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ०.६६ अंकले घटेर ३ सय ८३ रूपैयाँ ९३ पैसामा झरेको छ ।
नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ उपसमूहको सेयर घटेको छ भने ७ उपसमूहको मूल्य घटेको छ ।
बिहिबार कारोबार रकमका आधारमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सर्वाधिक कारोबार भएको छ । एनटीसीको १२ करोड २७ लाख ५ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
आजको दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण र संस्थापक लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै आज राप्ती हाइड्रो जनरल कन्सट्रक्सन कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.३८ प्रतिशतले घटेको छ ।
कूल २२५ वटा कम्पनीको ३९ लाख ५५ हजार ८ सय ८६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३४ करोड ६२ लाख ३२ हजार १ सय ६२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।