मोरङमा गतवर्ष सवारी दुर्घटनामा परेर १ सय २९ जनाले गुमाए ज्यान
मोरङ । गएको वर्ष मोरङमा सवारी दुर्घटनाबाट एक सय २९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा एक हजार दुई सय ८५ विभिन्न सवारी दुर्घटनाबाट उक्त मृत्यु भएको हो । उक्त दुर्घटनामा तीन सय ५३ जना गम्भीर घाइते र एक हजार छ सय ५४ जना घाइत भएका थिए ।
आव २०७७/७८ मा विभिन्न एक हजार एक सय ६२ वटा सवारी दुर्घटनाबाट एक सय ४२ जनाको मृत्यु हुनुका साथै तीन सय ४९ जना गम्भीर घाइते र एक हजार चार सय २० जना घाइते भएका थिए । आव २०७६/७७ मा चार सय ८७ वटा सवारी दुर्घटनाबाट ८९ जनाको मृत्यु हुनुका साथै दुई सय सात जना गम्भीर घाइते र पाँच सय २३ जना घाइते भएको ट्राफिक कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।
कार्यालयले आव २०७८/८९ मा ७१ हजार पाँच सय १७ सवारी साधनलाई कारवाही गरी रु चार करोड ५७ लाख एक हजार राजस्व सङ्कलन गरेको छ । आव २०७७/७८ मा ७० हजार एक सय २९ सवारी साधनलाई कारवाही गरी रु चार करोड २० लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ भने आव २०७६/७७ मा ५४ हजार दुई सय नौ सवारी साधनलाई कारवाही गरी रु तीन करोड १९ लाख ९५ हजार पाँच सय राजस्व सङ्कलन गरेको प्रहरी निरीक्षक कार्कीले बताए ।
कार्यालयले दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको छ । कार्यालयका अनुसार आव २०७८/७९ मा पाँच हजार तीन सय ९९ वटा कार्यक्रमबाट एक लाख ३३ हजार छ सय पाँच जना, छ सय ७७ पटक विद्यालयमा गरिएको कार्यक्रमबाट १९ हजार पाँच जना विद्यार्थी लाभान्वित भएका छन् ।
आव २०७७/७८ मा तीन हजार आठ ४९ वटा कार्यक्रमबाट ५२ हजार एक सय २६ जना, चार सय ३३ पटक विद्यालयमा गरेको कार्यक्रमबाट ५२ हजार एक सय २६ विद्यार्थी लाभान्वित भएका छन् भने आव २०७६/७७ मा तीन हजार पाँच सय ४४ कार्यक्रमबाट ४५ हजार पाँच सय ६७ जना र दुई सय ५० पटक विद्यालयमा गरिएको कार्यक्रमबाट चार हजार पाँच सय १० विद्यार्थी लाभान्वित भएको निरीक्षक कार्कीले बताए ।
चालु आव २०७९र८० को साउन मसान्तसम्ममा ८३ विभिन्न सवारी दुर्घटनाबाट आठ जनाको मृत्यु हुनुका साथै एक सय २१ जना घाइते भएका छन् । सोही अवधिमा तीन हजार छ सय ५७ सवारी साधनलाई कारवाही गरी रु २३ लाख १८ हजार ५०० राजस्व सङ्कलन गरिएको छ ।
कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि बूढीगङ्गाको निमुवादेखि विराटनगर रानीसम्म ५० वटा ट्राफिक नियमसम्बन्धी चेतनामूलक होडिङ बोर्ड राख्नुका साथै विराटनगर प्रवेशद्वारसम्म १० वटा प्रहरीको डमी बोर्ड राखिएको छ ।
बाटोको अवस्था, मादक पदार्थ सेवन र तीव्रगतिमा सवारीसाधन सञ्चालनले ८० प्रतिशत दुर्घटना हुने गरेको निरीक्षक कार्कीले बताए । मोटरसाइकल दुर्घटना गर्ने चालकमध्ये अधिकांश १५ देखि ३० वर्ष उमेरका युवा रहेको उनको भनाइ छ । कार्यालयले दुर्घटना न्यूनीकरण गर्न दैनिकरुपमा विभिन्न २० स्थानमा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै ६५ स्थानमा मादक पदार्थ सेवनलगायत जाँच गर्ने गरेको छ ।