१०० दिनको दौडमा छैनौँ, पाँच बर्षका लागि योजना छन्: बालेन
काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह निर्वाचित भएर कार्यभार सम्हालेको १०० दिन पुरा भएको छ । बितेका १०० दिनमा नागरिक स्तरबाट बालेनले चर्काे आलोचना देखी बलियो समर्थन पाए । बालेनले १०० दिन कस्तो रह्यो भन्ने बारेमा आफैले मुल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेराई बढि अर्थपुर्ण हुने बताएका छन् ।
प्रमुख शाहले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गरेको बताउदै आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले फरक पार्ने बताएका छन्। १०० दिन पुगिसकेको सन्दर्भमा केहि सन्दर्भहरु सम्झिदै शाहले लेखेका छन्, ‘मानिसहरुमा सकारात्मक उर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ । अन्यथा, हामीले यतिका कामहरु गर्यौँ भनेर सूचि बनाउदैमा हामी सफल हुन सक्दैनौँ ।’
यि हुन् बालेनले सम्झिएका मुख्य सन्दर्भ
१. फुटपाथबाट मकैको ठेला हटाएको
फुटपाथबाट मकैको ठेला हटाएपछि बालेको चर्काे आलोचना भयो । अभिभारा पुरा गर्न भावनात्मक मात्रै भएर नहुने र फुटपाथको आधारभुत निर्माण नै पैदलयात्रुहरुको लागि भएकाले फुटपाथ खुल्ला हुन पनि जरुरी रहेको उनको भनाइ छ ।
२. इ-स्पोर्टस का लागि १ करोड
इ स्पोर्टका लागि १ करोड छुट्याएपछि बालेन विवादमा तानिए । इस्पोर्टस पनि खेलकारुपमा भविष्यको आम्दानीको क्षेत्र तथा राष्ट्रिय गौरवको बिषय बन्दै गरेकाले त्यो परिवर्तनलाई समाजमा स्थापित गर्नका लागि बजेट छुट्याएको बताएका छन्। इस्पोर्टसमा चाहे जस्तै कार्यक्रम भए पछि बजेट छुट्याउनुको उपादेयता पनि हासिल हुन सक्ने भएकाले त्यो दिन पर्खिन उनले आग्रह गरेका छन् ।
३. यमबुद्धको सालिक
यमबुद्धको सालिक निर्माण गर्ने बताएपछि मानिसहरुले फरक तरिकाले टिकाटिप्पणी गर्न थाले । तर, बालेनले बजेटमा धेरै भन्दा धेरै पारदर्शीता चाहिन्छ भनेर त्यो बेग्लै बुँदामा सालिक निर्माणको योजना राखेको बताएका छन् । आममानिसबाट आएका प्रतिक्रियाले निर्णयमा केहि फेरबदल गरेका छन्। समाजको एउटा पुस्ताको ठुलो संख्याले आफ्नो भविष्य र कलामा सम्भावना खोजिरहेको कुरालाई स्थापित गराउन बहस र छलफल गराउन सकेकोमा गौरवबोध भएको बताएका छन्।
४. कार्यक्रममा मद्यपान र मुकुट परिवर्तन स्
नेपहपको श्रीपेच नामक कार्यक्रमा बालेको सम्बोधन सदाजस्तो सामान्य थिएन् । उनले मदिरा सेवन गरेर कार्यक्रममा उपस्थित भएको भन्दै आलोचना भयो । यस विषमा मान्छे एउटै जीवनभित्र फरक फरक भुमिकामा हुने बताउछन् । “म कार्यालयमा मेयर भएर व्यवस्थित भइरहदा घरमा छोरोको रुपमा अव्यवस्थित, पतिकारुपमा प्रेमील र साथीहरुसँग जिस्किदै फुटसलमा रमाइरहेको हुन सक्छु,” बालेनले लेखेका छन्, “माहौलले पनि फरक पार्न सक्छ । कार्यक्रमको चर्चाका लागि वा माहौललाई रोचक बनाउन म छुट्टै अभिनय गरिरहेको हुन पनि सक्छु । यी सबै कुरालाई सोहीरुपमा बुझिदिनु हुन आग्रह गर्दछु ।” सार्वजनीक व्यक्तित्व भएको कारणले समाजमा आफ्ना कार्यहरुले पार्न सक्ने प्रभावका बारेमा भने सजग रहेको बताएका छन् ।
५. फोहोर व्यवस्थापनमा ढिलाइ
फोहोर व्यवस्थापनमा पहिलो दिनदेखी नै तीव्र रुपमा लागेका बालेन चाहेअनुरुप फोहोर व्यवस्थापन हुने सकेको छैन् । १०० भित्र फोहोर व्यवस्थापनका सन्दर्भमा सोचेको जस्तो हुबहु हुन नसकेको बोलेन स्वीकार गर्छन् । तर झन्डै २ दशकदेखि कुहिएर रहेको समस्यालाई हामीले सतहमा ल्याउन सकेको उनको भनाइ छ ।
६. नर्भिक लगायतको अनधिकृत संरचना हटाउने सन्दर्भ
अनधिकृत संरचना हटाउ डोजर लिएर नर्भिक अस्पताल पुगेका बालेन संरचना हटाउन डोजर चलाएनन् । बरु समय दिएर हटाउन निर्देशन दिए । यस सन्दर्भमा बालेन लेख्छन्, “जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यहिरुपमा प्रयोग हुनु पर्छ । हामीले चाहेको यति मात्रै हो । कुनै पनि शर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौँ । यी कतिपय सन्दर्भमा हामीले सम्मानित अदालतका सन्दर्भमा बोल्यौँ, सम्बन्धित व्यक्तिसामू चर्कोस्वरमा आक्रोश पोख्यौँ । आममानिसहरुको आवाज हामीले सम्बन्धित ठाउँसम्म पुर्याउँने सेतुका रुपमा मात्रै हामीले ति कार्यहरु गरेका छौँ ।”