नेप्सेमा सामान्य वृद्धि हुँदा रिडी हाइड्रोको सार्वधिक कारोबार
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयरबजारमा सामान्य वृद्धि भएको छ । आइतबार नेप्से परिसूचक ६ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६.६८ अंकले बढेर १९७७.३० अंकमा पुगेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ०.५७ अंकले बढेर ३८३.७७ अंकमा पुगेको छ ।
नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहको सेयर बढेको छ । बाँकी ४ वटा उपसमूहको सेयर भने घटेको छ ।
आइतबार कारोबार रकमका आधारमा रिडी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८ करोड ९१ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज रूरू जलविद्युत परियोजना कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै आजको दिन नयाँ सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा घटेको छ । यो कम्पनीको सेयरमूल्य सेयरमूल्य २.८६ प्रतिशतले घटेको छ ।
कूल २२७ वटा कम्पनीको २८ लाख ७६ हजार २ सय ८८ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७ करोड १६ लाख १५ हजार ९ सय २२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको अभिव्यक्तिले पनि बजारमा सकरात्मक उर्जा मिलेको सेयर बजारका जानकारहरु बताउँछन् ।
शनिबार नेपाल आर्थिक पत्रकार समाज सेजनको २४औं वार्षिक साधारण सभामा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा गत मंसिर पछि भने केही सहजता देखिन थालेको अभिव्यक्ति दिएका थिए ।
‘केही सहजता देखिए पनि अझै जोखिम कम भएको छैन ।’ उनले भने ‘जोखिम कम भएपनि राष्ट्र बैंकले सजगता भने अपनाईरहेको छ ।’