अब कोरोना भाइरस र अस्पतालसहितका बिवरण प्राप्त गर्न सजिलो
काठमाण्डौं, १६ चैत ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न वेबसाइट र मोबाइल एप्स शुरु गरेको छ । आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले वेबसाइट ‘कोभिड डट एमओएचपी डट जिओभी डट एनपी’ र हाम्रो स्वास्थ्य मोबाइल एप्स को शुभारम्भ गरे ।
मन्त्रालयले एप्ससँगै कोभिड–१९ को सूचना प्राप्त गर्न सहज होस् भनेर सबैको पहुँचका लागि भाइबर कम्यूनिटी पनि प्रयोगमा ल्याएको जनाएको छ ।
मन्त्री ढकालले कोभिड–१९ विरुद्ध लड्न उपलब्ध स्वास्थ्य सेवाको अवस्था र विवरणका साथै कोरोनाबारे एकीकृत रूपमा सही जानकारी तथा सूचना उपलब्ध गराउन यस्तो व्यवस्था मिलाइएको जानकारी दिए । उनले सरकारले कोरोनाविरूद्ध उच्च सतर्कताका साथ काम गरिरहेकाले नआत्तिन पनि अनुरोध गरे । उनले याँ वेबसाइट, मोबाइल एप्स र भाइबर क्म्यूनिटीको उपयोग गरेर लाभ लिन सबैमा अनुरोधसमेत गरे ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को तत्काल जानकारीसहित सम्पूर्ण सूचना आमनागरिक माझ सहजरुपले पु¥याउने उद्देश्यले मन्त्रालयले प्रोगेसिभ इन्जिनियरिङ एशोसियसन नेपाल, नक्सा, सोच नेपाल, कोड फर कोर इनोभेसन, आइटी म्याप्ससँग समन्वय गरेर वेभ एप्लिकेशन तयार पारेको हो ।
वेबसाइटमा हब अस्पताल, कोभिड–१९ लक्षित अस्पताल र क्वारेन्टाइनको अवस्थिति र अवस्थासहितको जानकारी पाइने छ । त्यस्तै ‘आइसोलेसन बेड’ को जानकारीसमेत सबैले जुनसुकै स्थानबाट हेर्न सकिने छ ।