ट्राफिक नियम उल्लंघन गर्ने ८२ जना विद्यार्थी कारबाहीमा
प्रकाशित मिति : 6 September, 2022 1:22 pm
काठमाडौं । स्कुल तथा कलेजका विद्यार्थी लक्षित सुरक्षा चेकिङ अन्तर्गत आज ८२ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङमा कागजपत्र साथमा नभएका ५१ जना, सवारी चालक अनुमतिपत्र प्राप्त नगरेका २४ जना कारबाहीमा परेका छन् ।
यस्तै, नम्बर प्लेट दुरुस्त नभएका ४ जना, तीनजना राखेर मोटरसाइकल चलाउँदै गरेका एकजना, तीव्र गतिमा जिकज्याक चलाउने एकजना, हेल्मेट नलगाएका एकजना गरी ८२ जना विद्यार्थी चालकलाई कारबाही गरिएको हो ।
ट्राफिक प्रहरीले साउन ३० गतेदेखि सुरु गरेको विद्यार्थी सुरक्षालक्षित चेकिङ अभियानमा अहिलेसम्म १ हजार १६५ जना विद्यार्थी चालक कारबाहीमा परेका छन् ।