८ मंसिर २०८१, शनिबार

आजदेखि पोखरा शिक्षण अस्पताल सञ्चालनमा

प्रकाशित मिति :  9 September, 2022 2:52 pm


काठमाडौं । पोखरा विश्वविद्यालय शिक्षण अस्पताल सञ्चालनमा आएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा. प्रेमनारायण अर्यालले बिहीबार अस्पतालको बहिरंग सेवा (ओपिडि) सुरु गरेका हुन् ।

अर्यालले अर्थोपेडिक ओपिडि र रजिष्ट्रार प्राडा. दीपकबहादुर भण्डारीले स्त्री तथा प्रसूति ओपिडिको उद्घाटन गरेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।

विश्वविद्यालयको छात्रावास भवनलाई परिमार्जन गरी शिक्षण अस्पताल निर्माण गर्न विश्वविद्यालयले गत जेठ २० गते सम्झौता गरेको थियो । अस्पतालको बिरामीको रुपमा स्थानीय महिला सुशिला रेग्मीलाई प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा। मदन खड्काले उपचार गरेका छन् ।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक दीपेन्द्रकुमार यादवले हाल १ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, १ अर्थोपेडिक सर्जन गरी २ डाक्टरमार्फत १० बजेदेखि २ बजेसम्म ओपिडि सेवा सञ्चालन हुने उल्लेख गरे ।

दैनिक २ सय जनालाई ओपिडिमा सेवा दिन अस्पताल जनशक्ति तयार रहेको बताउँदै ३ महिनाभित्र इमर्जेन्सि सेवा सञ्चालन गरिने बताए । इमर्जेन्सि सेवाका लागि १० बेड र ९० जनरल बेड राख्ने काम अघि बढाइने यादवले बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै उपकुलपति प्राडा। प्रेमनारायण अर्यालले अस्पताल सञ्चालनले विश्वविद्यालयको उचाइ बढ्ने उल्लेख गर्दै हालै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वास्थ्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको बताए ।

उनले विश्वविद्यालयले देशका विभिन्न भागमा आंगिक क्याम्पस खोल्ने तथा २ वर्षभित्र एमबिबिएसको अध्यापन थालिने बताए ।



प्रतिक्रिया दिनुहोस !