८ मंसिर २०८१, शनिबार

भदौ ३० गतेदेखि १ लाख १५ हजार जना म्यादी प्रहरीको लागि आवेदन खुल्यो

प्रकाशित मिति :  11 September, 2022 1:21 pm


काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि आवेदन खुला गरिएको छ । आइतबार प्रहरी प्रधान कार्यालयले एक सूचना सार्वजनिक गर्दै म्यादी प्रहरीका लागि भदौ ३० गतेदखि असोज ६ गतेसम्म सार्वजनिक विदाको दिनमा समेत आवेदन दिन सकिने जनाएको छ ।

सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमार्फत दरखास्त फारम पाउन र बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका, राजनीतिक दलको सदस्य नरहेका र साधारण लेखपढ गर्न जान्ने व्यक्तिहरुले आवेदन दिन पाउनेछन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार म्यादी प्रहरीका लागि असोज ९ गतेदेखि १४ गतेसम्म छनौट हुने भने असोज २५ गते अन्तिम नतिजा सार्वजनिक हुनेछ । असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिइने साथै सार्वजनिक विदाको दिनसमेत तालिम हुने प्रहरी प्रधान कार्यालय जनाएको छ ।

म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुनेछ । प्रतिदिन ८६९ रुपैयाँको दरले पारिश्रमिक प्रदान हुनेछ । म्यादी प्रहरीले खाद्यान्न वापत एकमुष्ट ७ हजार २०० रुपैयाँ पाउनेछन् । तोकिएको पोशाक तथा अन्य सामग्री खरिद गर्न ६ हजार रुपैयाँ दिइनेछ भने हिमाली जिल्लामा खटिनेहरुले थप १ हजार रुपैयाँ पाउनेछन् । आउने–जाने खर्च १ हजार रूपैयाँ र ४ दिनको खाजा खर्चका लागि दैनिक ३०० रुपैयाँ उपलब्ध हुने प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस !